अाजदेखि नारायणगढ–मुग्लीङ सडक दिउँसाे १० बजेदेखि ४ बजेसम्म बन्द हुने

चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ ।

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिनेछ।

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो । गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार