सचिवालय बैठकलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेट्न बालुवाटार गएका छन् । आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दाहालसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए । प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो । उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको प्रवक्ता खतिवडाले बताए ।‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा एकीकृत समाजवादीको समान सहभागीता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो,’ सचिवालय बैठकका निर्णय सुनाउँदै उनले भने, ‘उक्त प्रस्तावलाई सकारात्मक रूपले लिँदै प्रधानमन्त्रीसँग छलफल गरेपछि आवश्यक निर्णय गरिनेछ ।