
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपामा चिरा परेको छ । दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताले लोसपा गठन गरेका थिए । तर अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील गर्न नसकेको र पार्टीभित्र मनोमानी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको हो
पार्टी गठन भएको दुई वर्ष बित्दा पनि सक्रिय नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो लोसपाको विकल्प खोज्न थालेका छन् । उनी सके बहुमत पुर्याएर विधिवत् रुपमा पार्टी विभाजन गर्ने, नभए अर्को नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगिसकेको संकेत दिएका छन् ।
महतोले आइतबार बस्ने केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् । उनी निकट एक नेताले भने, ‘अब महतोजी ठाकुर (महन्थ ठाकुर) जीसँग बस्नु हुन्न, लोसपामा रहेका अन्य नेताहरुले साथ दिएमा पार्टीलाई विभाजन गरेर अलग पार्टी बनाउनु हुन्छ, नभए अर्को नयाँ पार्टी नै गठन गर्नुहुन्छ तर अब ठाकुरजीसँग बस्नु हुन्न ।
माघ ५ गतेसम्म उनी लोसपामै बस्नेछन् । महतोले तीन वटा पुस्तक लेखेका छन् । ती तीन वटै पुस्तक मधेस बलिदानी दिवसका दिन बिमोचन गराउने र त्यसपछि मात्र नयाँ पार्टीका लागि गृहकार्य गर्ने स्रोतले दाबी गरेको छ ।

472 पटक हेरिएको 

