चितवन, माघ १३– चितवनमा फरार एक कैदी माथि प्रहरीले आज अपरान्ह गोली चलाएको छ । प्रहरीले चलाएको दुई राउण्ड गोली लागेर फरार कैदी रामेछाप दोरम्बा घर भएका ३० वर्षीय टिका थापा मगर घाईते भएका छन् ।
उनको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा एक्सरे गरेपछि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ । घाईते मगरको दाहिने हात र दाहिने खुट्टाको तिघ्रामा गोली लागेको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा प्रहरीले चेकजाँच गर्दा भरतपुरबाट रामनगर तर्फ जाँदै गरेको ना ४७ प ५०५२ नम्बरको मोटरसाईकलको पछाडी सवार व्यक्तिले प्रहरी माथि गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गरेको थियोे । प्रहरीले गोली चलाउँदा चालक मगर घाईते भएका हुन् । प्रहरीलाई गोली चलाउने व्यक्ति फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागि घाईते भएका मगर यही माघ ४ गते काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका थिए । उनी डकैती मुद्धामा कैद सजाय भोगी रहेको प्रहरीले जनाएको छ । उनको खोजी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोली चितवन आईपुगेको थियो ।
फरार मगर रामनगर जाँदै गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा टोली र चितवन प्रहरीको टोली रामनगरमा चेकजाँच गरिरहेको थियो । सोही बेला मगरको पछाडी सवार व्यक्तिले प्रहरीलाई गोली चलाएको थियो । लगत्तै प्रहरीले तीन राउण्ड गोली चलाएको थियो ।

560 पटक हेरिएको 

