पूर्वराजा ज्ञानेन्द्रलाई भारतमा भव्य स्वागतको तयारी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्र शालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाले उनी माघ २२ गते (सोमबार) भारत प्रस्थान गर्न लागेका हुन् ।

आजको घटना र विचार साप्ताहिकमा खबर छ-माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाको रुपमा विशेष आमन्त्रण गरिएको छ । समारोहमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ ।

त्यस अवसरमा ज्ञोनन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ । स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन । भारतकै राष्ट्रपति समेत गर्भगृहमा जान पाउने छैनन् ।

यसअघि तत्कालिक वीरेन्द्र शाहबाट गर्भगृहसम्म पुगेर पूजाआजा गर्ने कार्य भएको थियो । तीन दशकपछि ज्ञानेन्द्र शाहले उक्त अवसर पाएका छन् ।

उनलाई पूर्व श्री ५ नभइ श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ ।

उनीबाट पुरीमा स्थापना गरिएको गौशालाको उद्घाटन हुने कार्यक्रम छ । उनले गोपीनाथ मन्दिर पुगी स्त्यावतीको पूजा पनि गर्नेछन् ।

माघ २२ गते शाह कलकत्ता भएर उडिसा जाने र यस यात्रामा कोमल शाहको सहभागिता नरहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार