काठमाडौँ, २३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब दुई अर्ब २५ करोड रूपैँया नराेक्न अन्तरिम अादेश जारी गरेकाे छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बैंककाे रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो ।
बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन नआएकाे भन्दै अादेशमा पैसा रोकी राख्नुपर्ने नदेखिएकाे उल्लेख गरेकाे छ । पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी भएकाे हाे ।
अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

606 पटक हेरिएको 

