काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुनेछ ।बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै, काँग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
काँग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ ।
काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदारसहित अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका छन् ।

375 पटक हेरिएको 

