काँग्रेस संसदीय दलको चुनाव सोमबार, देउवा र सिंह भिड्दै

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।

सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुनेछ  । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार