प्रतिनिधिसभाको सभामुख २६ गते चुनाव हुने

काठमाडौँ । प्रतिनिधिसभा सभामुखको चुनाव २६ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते गर्ने निर्णय गरेको हो । २६ गते दिउँसो १ बजे बस्ने बैठकले नयाँ सभामुख चयन गर्नेछ ।

यस्तै मंगलबारको बैठकले संसद बैठक सञ्चालको लागि चाहिने प्रतिनिधिसभा नियमावली बनाउन १३ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जूलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देव गुरुङ, प्रेम सुवाल, बृजेशकुमार गुप्ता, मिन विश्वकर्मा, मिनेन्द्र रिजाल, रविन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहनुभएको छ ।

समितिले १ महिनाभित्र नियमावलीको मस्यौदा बनाउने जिम्मा पाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २६ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

यस्तै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फाल्गुन ३० गते बुधबार हुने भएको छ ।
संघिय संसद भवन नया बानेश्वरमा मंगलबार बसको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फाल्गुन ३० गते गर्ने निर्णय गरेको हो ।

यस्तै मंगलबार नै बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा सञ्चालन नियमावली बनाउन ९ सदस्यीय समिति पनि गठन गरेको छ । समितिले १ महिनाभित्र नियमावली बनाउने जिम्मा पाएको छ । बैठकमा दलिय आधारमा राष्ट्रिय सभा सदस्यहरुले धारणा राखेका थिए । राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार