च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

एजेन्सी । युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इंग्लिस क्लब लिभरपुललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन लिगको उपाधि जित्न सफल भएको हो ।

युक्रेनको कियभ ओलम्पिक रंगशालामा भएको फाइनल खेलमा रियल मड्रिडको जितका लागि ग्थारेथ बेलले २ गोल र करिम बेञ्जिमाले १ गोल गरे । लिभरपुलका लागि १ गोल मिडफिल्डर साडिओ मेनेले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा ५१ औं मिनेटमा बेञ्जिमाको गोलबाट रियल मड्रिडले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा लिभरपुलका लागि साडिओ मेनेले गोल गरी खेल बराबरीमा पुर्‍याए । त्यसपछि ६१ औं मिनेटमा मैदान छिरेका बेलले ६४ औं मिनेटमा गोल गरी पुन टोलीलाई अग्रता दिलाए। बेलले नै ८३ मिनेटमा अर्को गोल गरेपछि रियल मड्रिड सहज जित हात पार्न सफल भयो ।

रियल सन १९७५–७६ को सिजनपछि लगातार तीन पटक उपाधि जित्ने टोली बन्न पुगेको छ । त्यस समय जर्मन क्लब वार्यन मुनिखले लगातार तीन पटक उपाधि जितेको थियो । यो रियलको च्याम्पियन लिगको १३ औं उपाधि हो । च्याम्पियन लिगमा सबैभन्दा बढी उपाधि जित्ने टोली पनि रियल मड्रिड नै हो ।

सेमिफाइनलमा लिभरपुलले इटालियन क्बल रोमा र रियल मड्रिडले जर्मन क्बल वार्यन मुनिखलाई पराजित गर्दै फाइलमा स्थान सुरक्षित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार