काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमाथि संघीय संसदमा छलफल जारी रहेको छ । प्रतिपक्षी दलका अतिरिक्त सत्तारुढ दलकै सांसदहरुले समेत बजेटको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बजेटमाथि टिप्पणी गर्दै प्रतिपक्षी र सत्तारुढ दलका सांसदहरुले विभिन्न विषयमा असन्तुष्टि जनाए ।
सत्तारुढ सांसदहरुले निर्वाचन क्षेत्रलाई छुट्याइएको चार करोड रुपैयाँमा सांसदलाई अपमान गरेको आरोप लगाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाप्रति आक्रोश प्रकट गरे । उनीहरुले सांसदको हात बाँधेर चार करोड दिएको भन्दै त्यस्तो बजेट फिर्ता लैजान सुझाव दिए ।
सरकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि पेस गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि शुरु भएको छलफलमा भाग लिँदै सांसदहरुले बजेटका प्राथमिकता, कतिपय कार्यक्रम र तिनका लागि विनियोजन गरिएको रकमका बारेमा असन्तुष्टि जनाएका हुन् ।
छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले बजेट सत्तासीन कार्यकर्तालाई भरणपोषण गर्ने प्रकृत्तिको मात्र भएको आरोप लगाए । उनले बजेटमा लगानीमत्रै वातावरण र योजाना नभएको भन्दै उनले अन्तर्राष्ट्रिय लगानीसमेत निरुत्साहित गर्न खोजिएको टिप्पणी गरे । उनले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा बजेट निर्माणका क्रममा यस विषयमा अर्थमन्त्री चुकेको आरोपसमेत लगाए ।
त्यसैगरी, तत्कालीन नेकपा एमालेको चुनाव चिह्न लिएर विजयी भएका सांसद हृदयेश त्रिपाठीले सैद्धान्तिकरुपमा बजेट सकारात्मक भए पनि करदाताको संख्या बढाउनतर्फ ध्यान नदिइएको भन्दै राजस्व संकलनको लक्ष्य प्राप्तिमा आशंका व्यक्त गरे । उनले सांसदका लागि छुट्याएको ४ करोट रकमप्रति पनि चर्को असन्तुष्टि जनाए ।
निर्वाचन क्षेत्र विकास नाममा सांसदलाई दिइने ४ करोड रुपैयाँ पर्याप्त नभएको भन्दै उनले उक्त कार्यक्रमलाई ‘तेस्रो लिंगी’को संज्ञा दिए । उनले अर्थमन्त्रीलाई लक्षित गर्दै भने, ‘दिएजस्तो पनि गर्ने, नदिएजस्तो पनि गर्ने तेस्रो लिंगी कार्यक्रम फिर्ता लिनुस् ।’
त्यस्तै सत्तारुढ दल नेकपा सांसद गजेन्द्रबहादुर महतले पनि सांसदका लागि छुट्याइएको रकम र योजना छनोटका सर्तप्रति कडा आपत्ति जनाए । उनले योजना छनोटका लागि स्थानीय जनतप्रतिनिधिलाई समेत राखिनु गलत भएको टिप्पणी गर्दै पश्न गरे, ‘कोही मन्त्री भए भन्दैमा हामी सांसदहरुलाई बाँधेर राख्न मिल्छ ? हामीलाई वडा अध्यक्षसँगै राख्न पाइन्छ ? चाहिँदैन हामीलाई चार करोड ।’
सत्तारुढ दलकै सांसद सत्या पहाडीले डोल्पा जिल्लावासीले अझैसम्म स्वास्थ्य सेवा पाउन नसकेको टिप्पणी गर्दै स्वास्थ्य सेवा सुलभ बनाउन ध्यान दिनुपर्ने बताइन् । सत्तारुढ दलीकी सांसद रामकुमारी झाँक्रीले बजेटका सन्दर्भमा अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको अभिव्यक्तिको आलोचना गरिन् ।
बजेटबारे आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले निर्वाचन विकास क्षेत्र कार्यक्रम अन्तर्गत सांसदलाई रकम छुट्याउन आफू अनिच्छुक रहे पनि ‘ट्रयापमा परेर’ परीक्षण्का रुपमा कार्यक्रमलाई परिमार्जन गरी ल्याएको बताएका थिए । उनले अर्थमन्त्री के कारणले ट्रयापमा परेका हुन् भन्ने प्रश्न गरिन् । अर्थमन्त्रीको यस्तो अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको बताइन् ।

1488 पटक हेरिएको 

