बाढीको वितण्डा– भक्तपुरमा ३ जनाको मृत्यु, कैयौ सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षाका कारण भक्तपुरको चाँगुनारायण–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

घर माथिबाट आएको पहिरकोले घर पुरिदा स्थानीय ७० वर्षीय हिरा लामा उनकी श्रीमती ६५ वर्षीया सानुमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढीका कारण खोला किनारका बस्ती डुवानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर क्षेत्र डुबानमा परेको हो । त्यस्तै, जगाती र बाराहीका बस्तीमा पनि बाढी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेका छन् ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेको छ । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था नाजूक बनेको छ । रुयसैबीच वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ ।

बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् । बाढी र ठाउँ ठाउँमा गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

त्यस्तै, बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ ।

यस्तै सुदूरपश्चिमको दार्चुलामा पनि भारी वर्षाका कारण नदी खोलाहरूमा पानीको बहाव बढेर विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीबाट दार्चुलाको नौगाड गाउँपालिकामा सवैभन्दा बढी क्षति पुगेको छ । नौगाड खोलामा आएको बाढीका कारण आधा दर्जन घरहरूमा क्षति पु¥याएकोे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार