काठमाडौँ । सांसदहरुले महिला हिंसामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधीसभाको शुक्रबारको बैठकमा महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उनीहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड समेत दिएका छन् ।
महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र उपभोग्य साधनका रुपमा मात्रै लिइएका कारण हिंसा बढेकाले कानूनी एवं व्यावहारिक रुपमा नै समस्याको समाधान गर्नुपर्ने उनीहरुको भनाई छ ।
छलफलमा भाग लिदै सांसद पुष्पा भुसालले महिला हिंसा एवं बालबालिकामाथिको अपराध पछिल्लो दिनमा बढ्दै गएकाले त्यसलाई अन्त्य गर्न सङ्कल्प प्रस्ताव महत्वपूर्ण भएको बताउनुभयो । सांसद यशोदा गुरुङले महिला हिंसाविरुद्ध पर्याप्त कानून भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा महिला, बालबालिका पीडित हुनुपरेको यथार्थ प्रस्तुत गर्नुभयो ।
सांसद राधाकुमारी ज्ञवालीले महिला हिंसाविरुद्ध कारवाही गर्र्ने पूर्ण अख्तियारीसहित चौबीसै घण्टा सञ्चालन हुने विशेष संयन्त्र बनाउन माग गर्दै नाबालिगमाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो ।

509 पटक हेरिएको 

