बारा । आइतबार राती आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’

मृतकको संख्या २८ पुग्यो
आइतबारको हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उपचारका क्रममा फेटा गाउँपालिका–६ का खयाग आलमको मंगलबार मृत्यु भएको हो । सोमबारसम्म २७ को मृत्यु भएको थियो ।
गृह मन्त्रालयका अनुसार अझै २ सय ४५ जनाको उपचार भइरहेको छ । २ सय ३३ को पर्सा, ३ को बारा र ९ को काठमाडौंमा उपचार भइरहेको छ । हावाहुरीमा करिब सात सय घाइते भएका थिए ।
यस्तै गृहले मृतकका परिवारलाई एक लाखका दरले राहत रकम बारा र पर्सा पठाइसकेको छ । प्राकृतिक विपतमा मृत्यु भएकाको परिवारलाई सरकारले एक लाख दिने गरेको छ । घाइतेको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय मंगलबार नै गरिसकेको छ ।
गृहले पीडित परिवारसम्म राहत पुगिसकेको दाबी गरेको छ । त्रिपाल र खाद्यान्न कतै अपुग नभएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले बताए ।

478 पटक हेरिएको 

