चार मिनेट नपाउँदा निगमको दुबई जाने जहाज रोकियो, २५ देखि ३० लाख खर्च

काठमाडौं । चैत १९ गते मंगलबार राति । स्थान– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । नेपाल वायु सेवा निगमको ठूलो आकारको ‘एयरबस थ्री थर्टी’ १ सय ७६ यात्रु भरेर उड्नका लागि ठिक्क थियो । जहाजको गन्तव्य थियो– दुबई । क्याप्टेन थिए श्रवण रिजाल ।

राति ९:३० मा नियमित उडानका लागि जहाजलाई ह्यांगरबाट निकालेलगत्तै यात्रु भरिए । ९:३७ मा जहाजमा तेल भर्ने काम सकियो । ९स्४५ मा इन्जिनियरले उडानका लागि अन्तिम अनुमति दिए । त्यसपछि जहाज उडाउन ‘पुसब्याक’को अनुमति मागियो । सोही समयमा हङकङको ड्रयागन एयर पनि ‘पुसब्याक’मै रहेकाले निगमको जहाजलाई अनुमति प्राप्त भएन ।

त्यसैले निगमको जहाज प्रतीक्षामा बस्यो । ९:५७ मा ड्रयागन एयर उड्यो । तर, उड्ने अन्तिम तयारीमा रहेको निगमको जहाजलाई ‘पुसब्याक’को अनुमति नै दिइएन । क्याप्टेन लामाले जहाजमा १ सय ७६ यात्रु भरिएर उड्न ठिक्क रहेको भन्दै उडान अनुमति दिन अनुरोध गर्दै थिए ।

तर, विमानस्थलको तर्फबाट एयर ट्राफिक कन्ट्रोलर रातिको १० बजिसकेकाले अनुमति दिन नसक्ने बताए । क्याप्टेन लामाले पटक–पटक जहाज उडान गर्न ४ मिनेट बढी समय दिन आग्रह गरे पनि अनुमति प्राप्त भएन । त्यसपछि जहाजमा चढेका यात्रु आरोलेर होटेलमा लगेर राखियो । भोलिपल्ट अर्थात् बुधबार बिहान सोही जहाजले सम्पूर्ण यात्रुलाई दुबई पुर्यायो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विमानस्थलको धावनमार्ग मर्मत राति १० बजेपछि हुने कारण तयारी अवस्थामा रहेको जहाजको उडान अनुमति दिन विमानस्थलका कर्मचारी गम्भीर नबनेको क्याप्टेन लामाले बताए । ‘हामीभन्दा अघि ड्रयागन एयरलाई उड्न दिइयो, तर राष्ट्रिय ध्वजाबाहकलाई उडान दिइएन, हाम्रो कमजोरी केही नहुँदानहुँदै पनि जहाज होल्ड गरियो,’ उनले भने, ‘जम्मा चार मिनेट मात्र समय थपिदिन पटक–पटक आग्रह गर्दा पनि संवेदनशीलता देखाइएन ।’

दुबई उडान रद्द भएपछि जहाजमा रहेका यात्रुमध्ये १ सय ७ जनालाई चारतारे होटेलमा राख्नुपरेको थियो । त्यस्तै दुबईबाट नेपाल आउन जहाज कुरेर बसेका यात्रुलाई पनि निगमले नै होटेलको सुबिधा उपलब्ध गराउनुपरेको थियो ।

यात्रुलाई होटेलमा लगेर एक रात राख्नुपर्दा २५ देखि ३० लाख रुपैयाँ अतिरिक्त खर्च

यसरी काठमाडौंबाट दुबई जान लागेका यात्रु र दुबईबाट काठमाडौं आउन लागेका यात्रुलाई होटेलमा लगेर एक रात राख्नुपर्दा २५ देखि ३० लाख रुपैयाँ अतिरिक्त खर्च भएको निगमका एक अधिकारीले बताए ।

गत सोमबार रातिदेखि त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत कार्य थालिएको छ । जसका लागि रातिको १० बजेदेखि भोलिपल्ट बिहानको ८ बजेसम्म सबै उडान रोकिएको छ । सोहीकारण सो समयमा अत्यन्त आकस्मिकबाहेक अन्य उडान अनुमति नदिन भनिएकाले निगमको जहाज उड्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार