अत्यावश्यक सेवामा हड्ताल तथा अवरोध गर्न नपाइने

काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने निर्णय गरी राजपत्रमार्फत जानकारी गराउने भएको छ ।

सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्रिपरिषद्को यही चैत १४ गतेको बैठकको निर्णय विहीबार सार्वजनिक गर्दै मन्त्री बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्का निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन फोहरमैला व्यवस्थापन विद्युत्, दैनिक खाद्य वस्तु, बैंक बीमालगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन । यो सम्बन्धी व्यवस्थासहितको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ ।

सरकारले प्रत्येक ६÷६ महिनामा अत्यावश्यक क्षेत्र तोेकेर हड्ताल गर्न पाइने घोषणा गर्नसक्ने व्यवस्था छ । यस्तै सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरिएको छ । ठूला बस, ट्रक, साना तथा हलुका सवारी साधन र मोटरसाइकलको सडक उपभोग गरेवापतको उपभोग दस्तुरमा वृद्धि गरी त्यसको सूचना समेत राजपत्रमा प्रकाशित गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार