अफगानिस्तानमा बम विस्फोट, तीन अमेरिकीसहित पाँच जनाको मृत्यु

काबुल ।  पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् ।

बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

न्यूज एजेन्सी सिन्ह्वाले जनाए अनुसार पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका छन् ।

स्थानीय समयानुसार सोमबार साँझ ५ः४५ बजे सो आक्रमण भएको थियो । घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको प्रहरी प्रमुख नकिब खोहस्तिनीले बताए ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा निन्दा गरे । -सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार