एकता प्रक्रिया प्याकेजमै टुंग्याउन चन्द्रागिरिमा ओली प्रचण्डको २३ घण्टा छलफल

काठमाडौं । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ ।

प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच जिल्ला अध्यक्ष र सचिवको सूची, जनसंगठनको नेतृत्व भागबन्डा, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत समग्र विषयमा ‘प्याकेज’मा छलफल भएको छ ।

फाइल तस्बिर

केन्द्रीय सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली–प्रचण्ड २३ घन्टा बिताएर शुक्रबार ४ बजे फर्किएका थिए ।

छलफलको सहयोगी भूमिकामा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । बादल एकता प्रक्रियाको बाँकी कामको गृहकार्यका लागि गठित ९ सदस्यीय कार्यदलका संयोजक थिए । बादलले पूर्वमाओवादी तथा महासचिव पौडेलले पूर्वएमाले समूहको तर्फबाट प्रस्ताव तयारीमा सहयोगी भूमिका खेल्दै आएका छन् । यी दुई नेता रहेको दुई सदस्यीय कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली तयार पारेपछि सचिवालय बैठकबाट पारित भएको थियो ।

झन्डै एक वर्षदेखि एकता प्रक्रिया अल्झिएकाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी स्थापना दिवस ९आगामी ( वैशाख) भित्रै सबै काम टुंग्याउने बताउँदै आएका छन् । यसैअनुसार दुई अध्यक्ष छलफलमा बसेको निकटस्थ स्रोतहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार