आज चैते दशैँ तथा रामनवमी : देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । चैते दशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, लिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ ।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार