मनमोहन अधिकारी नेपालको अग्लो कम्युनिस्ट नेता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीलाई नेपालको अग्लो कम्युनिस्ट नेताको रुपमा चित्रण गरेका छन् ।

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री एवम् बाम तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मनमोहन अधिकारीको २० औं स्मृति दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने, नेपाल कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पुर्याउने मनमोहन अधिकारीको सपना अनुसारनै आफ्नो पार्टी अघि बढिरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउँदै लैजान वर्तमान सरकार अग्रसर भइरहेको बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले आर्थिक विकास, सामाजिक सुरक्षाको सुप्रबन्धलगायतको क्षेत्रमा उदाहरणीय काम गरेर देखाएको पनि स्मरण गराए ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाको प्रबन्धलाई नेपालको इतिहासमै सबैभन्दा उदाहरणीय कामको रुपमा लिने गरिन्छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले मुलुकको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताए ।

२०५१ सालमा जनताबाट निर्वाचित पहिलो कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बनाउन सफल मनमोहन अधिकारीको नौं महिने कार्यकाललाई नेपालको इतिहासमै सर्वाधिक लोकप्रिय सरकारको कार्यकालको रुपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार