नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएको बनारसको एक निर्वाचन क्षेत्रबाट उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुनेछ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन् । ती दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन् ।
मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो । बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो । त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन् । त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । – सिन्ह्वा

588 पटक हेरिएको 

