भारतमा ७१ स्थानका लागि चौथो चरणको मतदान सुरु

नयाँदिल्ली । भारतमा लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ । उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।

यस चुनावमा बिहारको बेगुसराय निर्वाचन क्षेत्र निकै चर्चामा छ । यहाँ भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच प्रतिस्पर्धा हुँदैछ ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार