काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै् उनले यस्तो बताएका हुन् । मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिए ।

प्राचीन इतिहास स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीनकालका अगुवाहरु खासमा गणनायकहरु थिए, उनीहरु जनताबाट चुनिन्थे, पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा अलोकतान्त्रिक विधिबाट सत्तामा पुगेका सामन्तवादका संरक्षक राजा थिएनन् ।’
विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षिहरुले नायकत्व गरेको र प्राचीन शाक्य गणराज्यका शुद्धोधन पनि गणनायक रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानवीय जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर सिद्धार्थ गौतमले त्यस्तो कुचक्रको अन्त्य गर्न पारिवारिक माया र स्नेह तोडेर ज्ञानको खोजीमा निस्किएको स्मरण गरे।
उनले भने ‘आजको दिन त्यो शृङ्खलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन हो, यो जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन हो, बलपूर्वक थोपरिएको अन्यायको विरुद्ध न्यायको जीत भएको दिन हो ।’
शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतामा लोकतन्त्रको सार्थक अनूभूति गराउने अभियानमा सरकार लागेको बताए ।

440 पटक हेरिएको 

