पाँचथर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताएकी छिन् । नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने उनले बताएकी हुन् ।
प्रेस सङ्गठन पाँचथरले सोमबार बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने धारणा व्यक्त गरिन् ।
उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मातहतका निकायमा नागरिकले काम कारवाही, व्यवहार र अनुभूतिमा परिवर्तन देख्न पाउने व्यवस्था गर्न लागेको बताइन् ।
मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिइन् ।
उनले अबको डेढ वर्षमा देशभरिका सबै मालपोत कार्यालयमा डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् ।

343 पटक हेरिएको 

