काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराउँदै पहिलो जीत दर्ता गरेको छ।
मंगलबार राति भएको खेलमा अफगानिस्तानलाई डिएल मेथडको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो। बेलायतको कार्डिफमा भएको खेलमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रन बनाएपनि टोलीको हार जोगाउन सकेनन्। अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो। तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १ सय ८७ रनको नयाँ लक्ष्य दिएको हो।
जितसंगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ। यसअघि पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो। अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो।

819 पटक हेरिएको 

