काठमाडौं । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकारमातहत ल्याएको छ । वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए ।
त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको २४ रोपनी १२ आना, गायत्री परिवार नामक संस्था रहेको बाँसबारीस्थित ४२ आना सार्वजनिक गरिसकेको छ ।
वडा ४ ले पनि विभिन्न व्यक्ति र संस्थाले हडपेको ६० रोपनी जग्गा महानगरमातहत ल्याएको छ । धुम्बाराही मार्ग ९शिवस्थलीदेखि चक्रपथसम्म० जोडिएको २५ रोपनी, कपन मार्गमा रहेको ६ रोपनी, ४ र ५ वडाको सीमामा रहेको धन्वन्तरी मार्गमा ८ रोपनी, धोबीखोला करिडोर क्षेत्रमा पाँच रोपनी, रारापार्क क्षेत्रमा तीन रोपनी, नयाँ कोलोनी कृष्ण गल्लीमा ११ रोपनी, टुसाल क्षेत्रमा दुई रोपनी दुई आना र अन्नपूर्ण मार्गमा नौ आना गरी कुल ६० रोपनी ११ आना जग्गा महानगरमातहत ल्याएको हो ।
अन्य वडाले भने ठूलो परिमाणमा जग्गा फिर्ता गर्न सकेका छैनन् । वडा ५ ले चार रोपनी, वडा ६ ले तीन रोपनी, वडा ७ ले अढाई रोपनी, वडा ९ ले साढे चार रोपनी, १० ले पाँच रोपनी १२ आना, वडा १५ ले तीन रोपनी, वडा ३१ ले एक रोपनी चार आना महानगरमातहत ल्याएको छ । वडा १ र २ ले भने आफ्नो वडामा अतिक्रमित जग्गा नभेटिएको जनाएका छन् । वडा ३० ले अतिक्रमणमा परेको राजकुलो मिचेर घर, टहरा बनाएका व्यक्तिहरूलाई पत्र काटेको छ ।

464 पटक हेरिएको 

