हावाहुरीले कैलाली र कञ्चनपुरका ८ सय ७० घरमा क्षति

भीमदत्तनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्लाभर रहेका १५ उपशाखाबाट क्षति विवरण सङ्कलन गरिएको थियो । जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले वास्तविक रेकर्ड आउन एक/दुई दिन लाग्ने बताए ।

उनले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिए ।

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युतमा रु डेढ करोड बराबरको क्षति भएको बताए । त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् ।

स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार