पेलोसीको ताइवान भ्रमणको सम्भावनामाझ अमेरिका–चीनबीचको तनाव उच्च बिन्दूमा

विश्व

काठमाडौं, साउन १७,
एजेन्सी


अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान भ्रमणमा जान सक्ने सम्भावनाबीच ताइवान चीनको आक्रोशको सामना गर्ने तयारी गरिरहेको छ । पेलोसीको भ्रमणलाई ह्वाईट हाउसको समर्थन छैन र उनी ताइवान गइन् भने दशकौँपछि ताइवान पुग्ने सबैभन्दा शीर्ष अमेरिकी नेता हुनेछिन् ।

 

अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्‍याएको छ ।

स्वशासित टापु मुलुक ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ, जसलाई चीनले छुटिएर रहेको प्रान्त मान्छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले चीन पेलोसीको भ्रमणको संवेदनशीलतालाई लिएर अमेरिकासँग निरन्तर संवादमा रहेको बताइन् । साथै उनले ‘चेतावनीको बाबजुद अमेरिकाले चीनको सार्वभौम सुरक्षा चाखलाई असर पुर्‍याए गम्भीर परिणाम भोग्नुपर्ने’ चुन्यिङले दिइन् ।

 

मंगलबार चीनले ताइवान र मूलभूमि चीनलाई छुट्याउने अनौपचारिक विभाजन रेखासम्म लडाकु विमान उडाएको थियो ।

चिनियाँ पेलोसीको सम्भावित भ्रमणलाई केन्द्रित गरेर जनमुक्ति सेनाले नियमित सैन्य अभ्यास गरिरहेको छ । सेनाको पूर्वी कमाण्डले अनलाइन पोष्ट गरेको भिडियोमा आफूहरू ‘जुनसुकै स्थितिको लागि तयार रहेको’ बताएको छ ।

ताइवानका रक्षा मन्त्रीले आफूहरू टापु नजिक भइरहेको सैन्य गतिविधिबारे पूर्ण जानकार रहेको र चिनियाँ खतराको प्रतिरक्षा गर्न तम्तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाको औपचारिक कूटनीतिक सम्बन्ध चीनसँग छ तर उसले ताइवानसँग उसकै भाषामा एक ‘सबल र अनौपचारिक सम्बन्ध’ रहेको बताउने गर्छ ।

 

पेलोसी आइतबारदेखि एसिया भ्रमणका निस्किएकी छन् र सार्वजनिक उनको भ्रमण तालिकामा ताइवानको उल्लेख छैन । उनले हालसम्म सिंगापुर र मलेसियाको भ्रमण गरिसकेकी छन् र भ्रमण सूचिमा दक्षिण कोरिया र जापान पनि समावेश छ ।

उनको भ्रमण तालिकामा ताइवान उल्लेख नभए पनि ताइवानी तथा अमेरिकी मिडियाले उनी मंगलबार साँझ ताईपेई ओर्लिने योजनामा रहेको लेखिरहेका छन् । ताईपेईमा उनले बुधबार ताइवानी नेतासँग भेट्ने कार्यक्रम रहेको तिनै मिडियाले बताएका छन् ।

 

मंगलबार ताइवानका प्रधानमन्त्री सु सेङ–चाङले आफ्नो मुलुक ‘कुनै पनि विदेशी पाहुनालाई स्वागत गर्न तयार रहेको’ बताए ।

पेलोसीको भ्रमणले ह्वाईट हाउस भने चिन्तित देखिन्छ । राष्ट्रपति बाइडेनले गत साता अमेरिकी सेनाले पेलोसीको सम्भावित ताइवान भ्रमणलाई ‘अहिलेको समयमा उचित नमानेको’ बताएका थिए ।

 

नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किरबीले सोमबार ह्वाईट हाउसले अमेरिकी कंग्रेसको स्वतन्त्रतालाई सम्मान गर्ने प्रतिक्रिया दिए ।

अमेरिकाका दुवै पार्टीका समर्थक तथा सभासदहरुमाझ ताइवानप्रति बलियो समर्थन देखिन्छ ।

डेमोक्रेटिक पार्टीकी शीर्ष राजनीतिज्ञ पेलोसी लामो समयदेखि चिनियाँ नेतृत्वको कटू आलोचक रहेकी छन् र उनले चीनको मानव अधिकार रेकर्डको विषय उठाइरहन्छिन् ।

विगतमा पेलोसीले प्रजातन्त्र पक्षधर चिनियाँहरूलाई भेटेर चीनलाई चिड्याउने गरेकी छन् । उनले सन् १९८९ को तियानमेन चोकमा मारिएका पीडितको सम्मानका लागि सो चोकसमेत पुगेकी छन् ।

तियानमेन घटना भएको दुई वर्षपछि तत्कालीन क्यालिफोर्नियाकी प्रतिनिधि बेइजिङ भ्रमणमा थिइन् । तर त्यहाँ उनी र अन्य दुई कंग्रेस सदस्य लुसुक्क औपचारिक सुरक्षाबाट उम्किएर तियानमेन चोक पुगेका थिए ।

त्यहाँ उनीहरुले ‘चीनमा प्रजातन्त्रको लागि मारिएकाहरू प्रति’ लेखिएको सानो कालो ब्यानर देखाएका थिए ।

पेलोसीले अप्रिलमै ताइवान भ्रमणमा जाने योजना बनाएकी थिइन् । तर अन्तिम समयमा उनलाई कोभिड–१९ देखिएपछि भ्रमण पछि सरेको थियो । भ्रमण रद्द भएको हो की भन्ने आशङ्का माझ यो महिना उनले ‘ताइवानलाई समर्थन जनाउनु महत्त्वपूर्ण भएको’ दोहोर्‍याइन् ।

 

वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन् ।

उता किर्बीले भने सभामुखको भ्रमणले चीनप्रतिको अमेरिकाको रणनीतिमा कुनै फरक नआउने बताए । उनले यसको प्रमाण स्वरूप सन् १९९७ को रिपब्लिकन सभामुख न्युट गिनग्रिच र यसै वर्ष विभिन्न अमेरिकी विधायकले ताइवानको भ्रमणको उदाहरण पेस गरे ।

पेलोसीले भ्रमण नरोके चीनले विभिन्न रूपमा आफ्नो असन्तुष्टि देखाउने तयारी गरेको आशङ्का गरिन्छ । पेलोसी सुरक्षाको कारण अमेरिकी सेनाको जहाजमा एसिया टुरमा रहेको किर्बीले बताए ।

बीबीसीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार