चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन ।
बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताउनुभयो । “विद्युत् सेवा सञ्चालन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “मोबाइल चार्ज र कुटानी, पिसानीका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता छ ।”
खोलाले सडकको ठाउँ–ठाउँमा कटान गर्दा पिठयुमै पिठो बोकेर ल्याउनुुपरेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दा तिलक जप्रेलका अनुसार रातिको बेला विद्युत् नहुँदा टुकी बालेर उज्यालोको व्यवस्था गरिँदै आइएको छ । “विद्युत् सेवा छैन”, उहाँले भन्नुभयो, “पुरानै अवस्थामा फर्किएका छौँ, राति मट्टितेल र डिजेलको व्यवस्था गरी टुकी बाल्ने गरेका छौँ ।”
पिल्लरीफाँटा जोड्ने सडकसमेत स्थानीय खोलाले कटान गरी बगाएपछि विद्युत्का पोल ढुवानी गर्न समस्या भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “छवटा जति पोल गाउँसम्म बोकेर पु¥याएका छौँ”, उहाँले भन्नुभयो, “धेरै ठाउँमा पोल टुटेकाले अन्य पोल ल्याउनका लागि पहल भइरहेको छ ।”
नेपाल विद्युत् प्राधिकरण झलारी फ्युज शाखाका प्रमुख कैलाश भट्टले विद्युत् सेवा सञ्चालन गर्नका लागि १९ वटा पोल गाड्नुपर्ने भएकाले केही दिन अझै लाग्ने बताउनुभयो । “पोल र तार पूरै फेर्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो, “ट्रान्सफर्मर जडानको कार्य पनि गर्नु छ, पोल ढुवानी गर्नुपर्ने अर्को समस्या भएकाले विद्युत् सेवा सञ्चालन हुन अझै तीन दिनसम्म लाग्न सक्छ ।”
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले बिरामी र गर्भवती महिलालाई बोकेरै टाढाको स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने बाध्यता छ । अत्यावश्यक कार्यका लागि स्थानीय बासिन्दाले पैदलै गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको छ । वडाध्यक्ष महराका अनुसार अवरुद्ध सडक आंशिकरूपमा खोलिएको र पूर्णरूपमा खुलाउनका लागि काम भइरहेको छ । पिल्लरीफाँटा गाउँमा चार सय बढी परिवारको बसोबास छ । भदौ ३१ गते आएको बाढीले सडक बगाउनुका साथै विद्युत् पोल ढालेको थियो ।

171 पटक हेरिएको 

