काठमाडाैं, ३ माघ । लामाे कसरतपछि सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माेहनबहादुर बस्नेतका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।
बस्नेतका अनुसार सरकारले प्रदेश प्रमुखको नियुक्ति पनि गरेको छ । उनका अनुसार प्रदेश नम्बर १ डा. गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाप्रसाल खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्ल नियुक्त गरेकाे हाे ।
हेर्नुहाेस प्रदेश प्रमुखकाे वायाेडाटा
प्रदेश १ मा गोविन्द सुब्बा प्रदेश प्रमुख तोकिएका छन् । धनकुटा निवासी सुब्बा अंग्रेजीका प्राध्यापक हुन । अखिलबाट राजनीति शुरुआत गरेका उनी पछि कांग्रेस निकट भएका थिए । ०४९ सालको भएको स्थानीय चुनावमा धरानको मेयरमा उनी हारेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले मात्र हारेका थिए ।
प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख तोकिएका छन् । मधेश केन्द्रीत दलहरुको समर्थनमा प्रदेश प्रमुख तोकिएका कायस्थ पूर्व सचिव हुन । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन ।
त्यस्तै अनुराधा कोइराला प्रदेश ३ को प्रदेश प्रमुख तोकिएकी छन् । माइती नेपाल संस्थापक कोइराला देश विदेश प्रख्यात छन् । मानव बेचविखन विरुद्धको अभियानमा संसारभरी नै चर्चित नाम हो, कोइराला ।
प्रदेश ४ मा बाबुराम कुँवर प्रदेश प्रमुख तोकिएका छन् । अर्घाखाँचीका कुँवर पूर्व महान्याधिवक्ता हुन । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए ।
त्यस्तै उमाकान्त झा प्रदेश ५ को प्रदेश प्रमुख तोकिएका छन् । उनी पूर्व सचिव तथा राजपा नेपालका अध्यक्ष मण्डलका एक संयोजक महन्थ ठाकुरका सम्धीसमेत हुन । २०७० को संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।
प्रदेश ६ मा दुर्गा खनाल प्रदेश प्रमुख तोकिएका छन् । शिक्षण पेशामा संलग्न खनाल कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।
यसैगरी मोहनराज मल्ल प्रदेश ७ को प्रदेश प्रमुख तोकिएका छन् । शालिनव्यक्तित्वका रुपमा चिनिने मल्ल राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । उनी परराष्ट्र सहायक मन्त्री भइसकेका छन् ।
त्यस्तै सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।

1432 पटक हेरिएको 

