काठमाडौं, ४ माघ । ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्वार तथा पुनर्निर्माण गुरुयोजना तयार पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ ।
गुरुयोजना तयार पार्नेसम्वन्धी सम्झाैतामा कमलामाई नगरपालिका सिन्धुली र एनआरएनएबीच हस्ताक्षर भएकाे हो । ६ महिनाभित्रमा सम्पन्न गर्ने गुरुयोजनाको सम्झौता पत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् ।
जिर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व पुनस्थापना गर्ने उद्देश्यले एनआरएनएले गुरुयोजना तयार पार्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्च व्यवस्थापन एनआरएनएले व्यवस्थापन गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने सम्झौतामा पत्रमा उल्लेख छ ।

सम्झौता गर्न आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरल, प्रदेश सांसदहरु प्रदीप कटुवाल र विनोद खड्काको, कांग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, एमाले नेता कमलजंग राई, गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीले लगायतको उपस्थिति थियो ।

568 पटक हेरिएको 

