
विजयादशमीको अवसरमा प्रत्येक वर्ष नेपालगञ्जमा आयोजना गरिने रामलीला मञ्चनको यस विशेष रौकता छ । रामलिला नाटक हेर्नका लागि अहिले दैनिक हजारौँ सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेगाउँस्थित रामलीला मैदानमा आइतबार साँझदेखि रामलीला मञ्चन सुरु भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार सत्यमाथि विजयको प्रतिकका रूपमा मनाइने दसँैंको पहिलो दिन घटस्थापनादेखि विजया दशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रामलीला एवं रामलीला मण्डलका सञ्चालक राधारमण शर्मा नेतृत्वको २५ कलाकारको टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेको सञ्चालक समितिका प्रचारप्रसार उपसमितिका संयोजक विष्णुलाल कुमालले बताउनुभयो ।
महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लीला प्रदर्शन, लङ्कदहन, लक्ष्मण शक्ति, कुम्भकर्ण बध, रावण बध र राज्यअभिषेकका लीला प्रदर्शनको कार्यक्रम भइरहेको आयोजक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार करिब रु १५ लाख बढीको लागतमा रामलीला महोत्सव तथा मेलामा बाँके र बर्दियाका विभिन्न ग्रामीण क्षेत्र तथा सीमावर्ती क्षेत्रबाट सैयाँै नागरिक आउने गर्दछन् ।
रामलीला मैदानमा भइरहेको मञ्चनमा राति बच्चाका लागि खैलौना, पिङ, झुला, चिप्लेटी रहेको छ, भने मिठाइका पसल, चाट, बदाम पानलगायत खोन्चा पसल समेत थापिएका छन् । डेढसय बढी वर्षदेखि नेपालगन्जमा आयोजना हुदै आएको रामलीला मञ्चनले एउटा धार्मिक परम्पराको संरक्षण तथा नया पिँढीलाई जागरुकताको सन्देश प्रवाह गरेको रामलिला मञ्चनमा भेटिनुभएका नेपालगञ्ज–७ का विश्वजित तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो–“यो एउटा ऐतिहासिक पर्व हो, यो पर्वले हिन्दू समुदाय विशेष गरी अवधि संस्कृतिको जर्गेना गर्ने काम गरेको छ ।”
रामलीलाको अन्तिम तयारी, अवलोकनको सहज व्यवस्था र शान्ति सुरक्षालगायको तयारी गरिएको सञ्चालक समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो । रामलिला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलो पटक रामलिला मञ्चन स्थगित गरेको हो । एक सय ५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिक रुपमा नमनाइए पनि सोही स्थानमा विशेष पूजापाठ गरी मनाइने गरिएको थियो ।

369 पटक हेरिएको 

