दाङको गढवा २ र ३ मा माओवादी विजयी, १ मा एमालेको जीत

१६ असार, दाङ । दाङको गढवा गाउँपालिकाका तीन वटा वडाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा भने एमालेका उम्मेदवार सहजराम यादव अगाडि छन् ।

वडानम्बर ३ को अध्यक्षमा माओवादीका तुलसीराम अधिकारी प्यानलसहित विजयी भएका छन् । उनले ७४९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी फोरमका टुनटुन यादवले ३४० मत पाएका छन् ।

एमालेका डिल्ली रावतले २८७ र कांग्रेसका दामोदर रेग्मीले १६८ मत पाए ।

वडा नम्बर ३ मा धैरेनी, रतनपुर. गोबरडिहा, खैरा, खैरेनी, माधबपुर र सुपैला गाउँ पर्दछन् । वडा नम्बर ३ को मतगणनापछि माओवादी केन्द्रले एमालेसँगको मतअन्तर २ सयमा झारेको छ । त्यसअघिसम्म अध्यक्षका एमाले उम्मेदवार सहजराज यादवले माओवादीका उम्मेदवार लुमाकान्त न्यौपाने ‘सागर’लाई ६ सय मत अन्तरले पछाडि पारेका थिए ।

वडा नम्बर २ मा माओवादीका अध्यक्ष भक्तु चौधरी विजयी भएका छन् । अरु चारवटै सदस्यहरुमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मालेको कार्यकर्ता नै नभएको सो वडाबाट मालेको चुनाव चिह्न हसिया तारामा २ सय बढी मत परेको छ । यो मत माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडामा दिन खोजिएको तर नचिनेर हसिया तारामा परेकाले आफूहरुलाई घाटा लागेको माओवादी केन्द्र निर्वाचन परिचालन समिति संयोजक यमनारायण पोख्रेल ‘विश्वास’ले जानकारी दिए ।

वडानम्बर ८ मा भने हिजो नै माओवादीका उम्मेदवार सद्धाम सिद्दिकी विजयी भएका थिए ।

गढवाको वडानम्बर १ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४ र ५ को मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार