अझै सदरमुकाम पुगेन साइपालको मतपेटिका


साइपाल गाउँपालिका बझाङका मतपेटिका मङ्गलबार मात्रै जिल्ला सदरमुकाम चैनपुर पुग्ने भएको छ । मङ्गलबार बिहान मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार सोमबार साँझ हुने भनिएको मतगणना साइपालको मतपेटिका नपुग्दा ढिलाइ भएको हो । मौसम खराबका कारण हेलिकप्टर उड्न नसकेपछि मङ्गलबार बिहान साइपालका मतपेटिका जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।

आज साइपाल गाउँपालिका–१ र २ धलौन क्षेत्रका मतपेटिका २२ घण्टाको पैदलयात्रापछि सदरमुकाम ल्याएका छन् भने बाँकी मतदानस्थका मतपेटिका बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी भइरहेको छ । साइपालको धुली, न्युना बलौडी र काडाको मतपेटिका ल्याउने उहाँले बताउनुभयो ।

बझाङमा कति खस्यो मत ?

प्रतिनिधिसभा निर्वाचनका लागि बझाङबाट ६३ हजार चार सय ८९ मत खसेको छ । जसमा १४ हजार पाँच सय २३ मतदाता रहेको जयपृथ्वी नगरपालिकामा सात हजार आठ सय ८३ मत अर्थात् ५४ प्रतिशत खसेको छ ।

त्यस्तै तल्कोट गाउँपालिकामा चार हजार चार सय १७, मष्टामा चार हजार आठ सय ३८, खप्तडछान्नामा पाँच हजार एक सय तीन, थलारामा पाँच हजार तीन सय ४०, छबिसपाथिभेरामा पाँच हजार तीन सय ८५, साइपालमा एक हजार एक सय ४४, वित्थडचिरमा पाँच हजार नौ सय ४७ मत खसेको छ । दुर्गाथली गाउँपालिकामा चार हजार ९८, केदारस्युँमा ६ हजार ३५, बुङ्गलमा १० हजार ११ मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रदेशसभा निर्वाचन बझाङ १ मा ६१ हजार एक सय ६९ मतदाता रहेकामा ३२ हजार आठ सय ३३ मत अर्थात् ५३ दशमलव ६८ प्रतिशत खसेको छ भने प्रदेशसभा २ मा ६१ हजार दुई सय सात मतदाता रहेकामा ३० हजार ६ सय ५६ मत अर्थात् ५२ प्रतिशत मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार