‘चीनसँग अन्य ठूला परियोजना पनि अघि बढाउने प्रयास भएको छ’ :प्रचण्ड


पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सेवा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग अन्य ठूला परियोजना पनि अघि बढाउने प्रयास भएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै चीनलाई अरू महत्त्वपूर्ण परियोजनालाई पनि अघि बढाउन आग्रह गरेका छन्।

झन्डै २२ अर्ब रुपियाँ चिनियाँ ऋणबाट निर्माण गरिएको उक्त विमानस्थल अन्तर्गत आन्तरिक उडान औपचारिक रूपमा आइतवारबाटै सुरु भएका छन्।

अन्तर्राष्ट्रिय उडान सुरु हुन केही महिना लाग्ने अधिकारीहरूले बताएका छन्।

विमानस्थल सञ्चालन भएको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा थप रोजगारी र अवसर दिने परियोजना अघि बढाउन चीनलाई अनुरोध गरेका हुन्।

प्रचण्डले के भने?
प्रधानमन्त्रीले नयाँ विमानस्थल पोखराको विकासका लागि महत्त्वपूर्ण हुने भन्दै आफ्नो दल शान्ति प्रक्रियामा सहभागी भएयता त्यसका लागि पहलहरू अघि बढाएको बताए।

देशको विकासमा सम्पर्क सञ्जाल महत्त्वपूर्ण हुने भन्दै उनले नयाँ विमानस्थलले पोखराको पर्यटनलाई पनि टेवा दिने विश्वास व्यक्त गरे।

प्रचण्डले भने, “(चीनका तर्फबाट) हाम्रा नाकाहरू खोल्ने प्रक्रिया अघि बढेको छ। रेलवे परियोजनाको सर्भे प्रक्रिया अघि बढेको छ। अन्य ठूला परियोजना अघि बढाउने प्रयास भएको छ। म चीन सरकारसँग अपिल गर्न चाहन्छु यसलाई गति दिएर धेरै भन्दा धेरै परियोजना सम्पन्न गर्ने र नेपाली युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सहयोग हुने विश्वास लिएको छु।”

के नेपालले बीआरआईलाई अहिले कम महत्त्व दिएको हो?
नेपाल-चीन सम्बन्धमा तत्काल सुधार गर्नुपर्ने प्रमुख पाँच विषय
चिनियाँ एक्जिम ब्याङ्कले दिएको ऋण अन्तर्गत २५ प्रतिशत ऋणमा शून्य प्रतिशत ब्याज लाग्ने र बाँकीमा २ प्रतिशत ब्याज लाग्ने र त्यसलाई २० वर्षमा तिरिसक्नुपर्ने सर्त राखिएको बताइन्छ।

चीन के चाहन्छ?
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल चीन बेल्ट एन्ड रोड परियोजना अन्तर्गतको प्रमुख निर्माण भनेको छ।

उद्घाटन समारोहमा आफ्नो धारणा राखेका काठमाण्डूस्थित सार्जड अफेयर वाङ सीनले चीन र अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड अनुरूप यो विमानस्थल निर्माण गरिएको बताए।

उनले चीनले आफ्नो छिमेक नीतिमा नेपाललाई प्राथमिकतामा राखेको बताउँदै वर्तमान सरकारसँग मिलेर उच्चस्तरको बेल्ट एन्ड रोड निर्माण अघि बढाउन आफ्नो सरकार इच्छुक रहेको बताए।

उनले भने, “२०२३ साल राष्ट्रपति सी जिनपिङको बीआरआई पहलको प्रस्तावको दशौँ वार्षिकोत्सव हो। दुई राष्ट्र प्रमुखको निर्देशनमा, हामी संयुक्त रूपमा ट्रान्स हिमालयन बहु-आयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नेछौ र बीआरआई सहकार्यमा फलदायी नतिजा ल्याउनेछौँ।”

उनले नेपाल चीन सीमापार रेल्वेको सम्भाव्यता अध्ययन र सर्वेक्षणका विज्ञ टोली नेपाल आइपुगेको उल्लेख गर्दै यो उक्त पूर्वाधार निर्माण महत्त्वपूर्ण कदम भएको बताए।

उनले उक्त अन्तर्देशीय परियोजनाले ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना साकार बनाउने बताए।

१४७ देशमा फैलिएको बेल्ट एन्ड रोड परियोजना अघि बढाउन नेपाल कति इच्छुक?
चिनियाँ ऋणमा ‘डुबेका’ विश्वका आठ देश
चिनियाँ दूतावासका सार्जड अफेयरले हुम्ला जिल्लाको यारी नाकाबाट सन् २०२३ को सुरुमा व्यापार पुन: सञ्चालन हुने पनि बताए।

त्यसबाहेक चीनले ज्यानुअरी ८ बाट कोभिड महामारीका कारण यात्रामा लगाइएका प्रतिबन्ध हटाउन लागेको जानकारी दिँदै त्यसले नेपालको एक दशकको पर्यटन योजनालाई सघाउने विश्वास व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार