काठमाडौ, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताउनुभएको छ ।
प्रेस सेन्टरको १४ औ स्थापना दिवसका अवसरमा सोमबार काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको बताउनुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनितिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उहाँको भनाई थियो । त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धि तर्फ अघि बढाउने आफुहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रुपमा मुलुक राजनितिक स्थायित्व र शुसासन तर्फ अघि बढ्ने बताउनुभयो । यद्यपि त्यसका लागि जनमत श्रृजना गर्नु जरुरी भएको भन्दै उहाँले जनमत निर्माण गर्ने विषयमा पत्रकारिताको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा तात्कालिन जनयुद्धको समयमा पत्रकारिता गरेका महिलालाई सम्मान गरिएको हो ।

575 पटक हेरिएको 

