२४ जना निर्विरोध निर्वाचित, ३२ जनाका लागि मात्रै चुनाव

काठमाडौँ, १५ माघ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेका ९, नेपाली काँग्रेसका ८, नेकपा माओवादी केन्द्रका ३ तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका २,२ उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली हुनुहुन्छ । त्यस्तै काँग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध हुनुभएको छ । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार