सहारा फुटबल एकेडेमीमा वैशाखदेखि चौथो ब्याच सुरु गरिँदै


फुटबल एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको सहारा क्लब पोखराले एकेडेमीमा चौथो ब्याचका बालक भर्ना गर्ने भएको छ ।

‘मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नारासहित विसं २०५८ मा पहिलोपटक क्लबले सामाजिक सेवास्वरूप अनाथ बालकलाई राखेर फुटबल एकेडेमी सुरु गरेको थियो । आगामी वैशाखदेखि सुरु हुने नयाँ ब्याचलाई क्लबले १० वर्ष एकेडेमीमा राख्ने जनाएको छ । एकेडेमीमा पहिलो ब्याचमा विसं २०५८ मा २०, विसं २०६१ मा दोस्रो ब्याचमा २० र तेस्रो ब्याचका रूपमा विसं २०७० मा २८ जना प्रशिक्षार्थी बालक रहेका थिए । तेस्रो ब्याचका ११ जना दशजोड दुई (प्लस टु) अध्ययन पूरा गर्दै एकेडेमीबाट बिदाइ भइसकेका छन् ।

बाँकीलाई समेत दशजोड दुई (प्लस टु)को परीक्षा सकिएपछि क्लबबाट बिदाइ गरिने सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका सफल अनुभवलाई सँगाल्दै तेस्रो ब्याचलाई वैशाखमा बिदाइपछि चौथो ब्याच राख्नेछौँ, चौथो ब्याचका लागि यही चैत मसान्तभित्रमा आवेदन आइसक्नुपर्ने छ ।”

क्लबले चौथो ब्याचलाई झन्डै १० वर्ष एकेडेमीमा राखेर शिक्षा–दीक्षासँगै फुटबल प्रशिक्षण गराउने छ । अध्यक्ष गुरुङका अनुुसार ३० जनाभन्दा बढी भएको अवस्थामा छनोट गरेर राखिने छ । एउटा ब्याचलाई १० वर्ष एकेडेमीमा राख्दा क्लबले रु ३० लाख खर्च हुने अनुमान गरेको छ । “एकेडेमीमा राखेपछि बिदाइ भइन्जेलसम्म झन्डै १० वर्ष क्लबको रु २० देखि रु ३० लाख खर्च हुन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

सहारा क्लबले एकेडेमी सञ्चालनका लागि अक्षयकोष बनाएको छ । अक्षयकोषबाट प्राप्त ब्याजलाई समेत एकेडेमीमा खर्च गर्दै आएको क्लबले जनाएको छ । अक्षयकोषमा हाल रु दुई करोड ४० लाख रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । सहाराले बर्सेनि फुटबल प्रतियोगिता गर्दै प्रतियोगिताबाट बचत रकमले एकेडेमी चलाएको छ । एकेडेमी सञ्चालनका लागि क्लबले दाताहरूको हात थाप्दै आएको छ ।

दुई वर्षअघि मात्रै सूर्यबहादुर केसी स्मृतिले एकेडेमीका लागि वार्षिक रु १५ लाख सहयोग गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्लबले एकेडेमीको नाम परिवर्तन गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा’ छात्रबास फुटबल एकेडेमी राखेको छ ।

एकेडेमीबाट उत्पादित अनिल गुरुङ राष्ट्रिय फुटबल टोलीको कप्तान बन्नुभयो । यसैगरी नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनाको त्रिुभवन आर्मी क्लबमा कार्यरत नवीन श्रेष्ठ, नेपालको ए डिभिजन सातदोबाटो क्लबमा अनुबन्धित सुशील लामा, मनाङ मस्र्याङ्दी क्लबमा अनिल पोमु लिम्बू पनि सहाराको उत्पादन हुनुहुन्छ ।

फुटबल इतिहासका नक्षत्र स्व डम्बरसिंह गुरुङ, पूर्वराष्ट्रिय फुटबल खेलाडी स्व बिल तामाङ, पूर्वराष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक हुनुहुन्थ्यो । हालका एकेडेमी प्रशिक्षक प्रह्लाद हिराचन, हालका उदीयमान प्रशिक्षक विष्णु गुरुङ र १९ वर्षमुनिको पूर्वराष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन भएको सहाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार