नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो


सरकारले नमुना विद्यालय घोषणा गरेको कैलालीको एउटा विद्यालय अगाडि फोहरको थुप्रो लागेको छ । अत्तरिया बजार नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडि फोहरको थुप्रो फालिएकोे हो । स्थानीयवासी एवम् व्यापारीले उक्त क्षेत्रलाई फोहर फाल्ने डम्पिङ साइड बनाउँदै आएका छन् ।

पहाडरोड बसपार्क नजिकै रहेको उक्त विद्यालयको आधारभूत तहको भवन अगाडि खाली रहेको क्षेत्रमा व्यापारी एवम् स्थानीयवासीले फोहर फाल्ने गरेकाले उक्त क्षेत्रमा फोहर थुप्रिएको हो । व्यापारी र स्थानीयबासिन्दाका साथै पहाडी जिल्लामा जाने सवारी साधनबाट आवतजावत गर्नेहरूलेसमेत सोही क्षेत्रमा फोहर फाल्ने गरेकाले विद्यार्थीलाई असर पर्न नदिन पटक–पटक आवाज उठाइए पनि सुनुवाइ हुन नसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताउनुभयो । उहाँले विद्यालय पछाडिका व्यापारी एवम् स्थानीयवासीले साँझको समयमा फोहर ल्याएर विद्यालय अगाडि फाल्ने गरेको जानकारी दिनुभयो ।
“त्यो गल्लीवालाले विद्यालयलाई दिएको उपहार हो” व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “जानाजान साँझको समयमा पोलिथिनमा फोहर ल्याई त्यहाँ फालेर हिँड्छन्, भनेको सुन्दैनन् ।” फोहर नफाल्न सबैलाई चिठ्ठीसमेत लेखिए पनि कसैले मतलब नगरेककाले स्थानीयवासीका घरमै फाल्न अल्टिमेटम पनि दिइसकिएको प्रधानाध्यापक जोशीको भनाइ थियो ।

विद्यालय अगाडि नै फोहर थुप्रिएको एक हप्ताभन्दा बढी भइसक्दासमेत उठाइएको छैन । नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि ठेक्का प्रक्रियामार्फत निजी संस्थालाई जिम्मेवारी दिएकामा उक्त संस्थाले केही रकम लिएर नगरको फोहार उठाउँदै आएको तर विद्यालय अगाडिको फोहर उठाउन भने आनाकानी गरेको उहाँको गुनासो थियो । फोहर उठाउने संस्थाका प्रतिनिधिसँग छलफल गरी आवश्यक रकम दिन्छौँ फोहर उठाउनुप¥यो भनेर अनुरोध गर्दा सरकारी विद्यालयबाट पैसा नलिने निर्णय भएको र नगरपालिकासित कडायत टोल जाने बाटोसम्म मात्रै सम्झौता भएको छ भन्दै फोहर उठाउने काम गरेन ।

प्रधानाध्यापक जोशीले विद्यालयले प्रत्येक हप्तामा विद्यार्थीसँगै विद्यालय हातामा सरसफाइ गर्ने गरिएकामा केही समय परीक्षाका कारण ढिलाइ भएको थियोे । उहाँले स्थानीय र व्यापारीले फालेको फोहर विद्यार्थीले उठाउनु परिरहेको छ भन्दै दुःखेसो पोख्नुभयो । प्रायःजसो ठूला सहरमा कालो प्लास्टिक निषेध गरिएको छ । उक्त प्लास्टिक जलाउँदा हानिकारक ग्यास उत्पन्न हुने भएकाले कालो प्लास्टिक प्रायःजसो ठाउँमा निषेध गरिए पनि यहाँ भने प्राय कालो प्लास्टिकमै फोहर फालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार