काठमाडौँ, २४ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ । आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर मतदान शान्तिपूर्णरुपमा उत्साहका साथ भएको बताउँदै ढिलामा भोलि माघ २५ गतेसम्म सबै मतपरिणाम आइसक्ने बताए । आयोगले एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन भएका पदको मतगणनाका लागि विज्ञ टोली खटाएको उनले जानकारी गराए ।
प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्वाचितभएकाले मतदान गर्नुपरेन । कूल ५६ सदस्यका लागि हुने मतदानमा यसअघि नै २४ जना निर्विरोध निर्वाचित भइसकेकाले आज ३२ पदमा निर्वाचन भएको हो । सबै प्रदेशमा गरी ५२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
आयोगले प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्र सभा गृहमा, प्रदेश नं ३ को ललितपुरस्थित जावालाखेल मैदानमा, प्रदेश नं ४ को कास्कीको पोखरास्थित लोकसेवा आयोगको भवनमा मतदान केन्द्रको व्यवस्था गरेको थियो ।
त्यस्तै प्रदेश नं ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, प्रदेश नं ६ को सुर्खेतको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवनमा र प्रदेश नं ७ को डोटीको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवनमा मतदानको भएको थियो ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचनमण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।
प्रदेश नं २ का आठवटै पदमा निर्विरोध निर्वाचित भएकाले आज छ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी एक हजार ६७७ जना मतदाताले मताधिकार प्रयोग गरेका छन् ।

412 पटक हेरिएको 

