काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको छ।
नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ बल खेल्न बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो।
नेपालको जितमा बसन्त रेग्मीकाे महत्वपुर्ण याेगदान दिए । उनले नटआउट २४ रन जोडे। २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।
खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरमै शून्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो। त्यसपछि मैदान छिरेका कप्तान पारस १९ रन भन्दा बढी जोड्न सकेनन्। पारसले ३५ बलमा २ चौका प्रहार गरेका थिए । ओपनर ज्ञानेन्द्र मल्ल १५ रन र आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के। करण केसीले पनि ३ भन्दा बढी रन जोड्न सकेनन्।
शरद भेषावकर २९ रनमा आउट भए भने रोहिकुमार पौडेल पनि १७ रन बनाए । सोमपाल १३ रनमै अाउट भएपनि बसन्त रेग्मीकाे उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विजयी भएकाे हाे ।
त्यसअघि एब्लुएपी मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।
बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट हात पारे। सन्दीपले ८.२ ओभरमा १८ रन खर्चिँदा २ मेडन राखे। सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए।
नेपालले शुक्रबार डब्लुएपी मैदानमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

442 पटक हेरिएको 

