कप्तान पारसकाे अर्धसतककाे मद्दतमा नेपालसँग यूएइ ४ विकेटले पराजित

 1450 पटक हेरिएको

काठमाडौं, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएइलाइ ४ विकेटले पराजीत गरेकाे छ । युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेकाे नेपालले ६ विकेटेकाे क्षतिमा २८.५ ओभरमा  लक्ष्य भेटाएकाे हाे ।

कप्तान पारस खड्काले अर्धशतककाे मदतले नेपालले लक्ष्य भेटाएकाे हाे । विस्फाेटक व्याटिङ गरेका कप्तान खड्काले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे। दिलीप नाथ २ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्के । यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ रन र शरद भेषावकर ३ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परे। युएईका मोहमद नाभिदले २ विकेट लिए । रोहान मुस्ताफा र अमिर हायतले १-१ विकेट हात पारेका छन्।

ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

युएईका लागि शइमन अन्वारले सबैभन्दा बढी ३० रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछाने ३ विकेट लिँदा कप्तान पारस खड्काले २ विकेट हात पारे। करण केसीले १ विकेट हात पारे ।

खेलकाे शुरूमै सोमपालले तेस्रो बलमै नेपाललाई सफलता दिलाएका थिए। उनले ओपनिङ ब्याट्सम्यान असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे। यस्तै सोमपालले गुलाम सब्बरलाई १६ रन र दशौं नम्बरका ब्याट्सम्यान मोमहद नाभिदलाई १० रनमा अाउट गरे ।

सन्दीपले १८औं ओभरमा लगातार २ विकेट हात पारे। उनले १८ ‍औं ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरे। सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे।

कप्तान पारसले मोमहद बोतालाई १५ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे भने अडनान मुफ्तीलाई १८ रनमा आउट गरे।

पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए। डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि यो खेल महत्वपूर्ण थियाे।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो। युएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार