भारतीय सेनाध्यक्ष रावत नेपाल अाउँदै, वेलायती र अमेरिकी सेनाप्रमुख पनि नेपालमै

काठमाडौं । महाशिवरात्रि एवं सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्ष जनरल विपिन रावत सोमबार काठमाडौं आउँदै छन्। नेपाली सेनाको आतिथ्यता स्विकार्दै उनी भ्रमणमा आउन लागेका हुन् ।

सेनाले मंगलबार भव्य समारोहबीच २५० औं सैनिक दिवस मनाउने तयारी गरिरहेको छ। सैनिक दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने छिन्। भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ प्रधानसेनापतिसमेत हुन्। नेपाल र भारतका सेना प्रमुखलाई दुवै मुलुकले मानार्थ सेनाध्यक्षको दर्जा दिने चलन छ। सेना दिवसमा सरिक हुन भारतीय सेनाध्यक्ष आउन लागेको यो पहिलोपटक हो। प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाध्यक्ष रावतसँग जंगीअड्डामा भेटवार्ता गर्नेछन्।

सेना दिवसको अवसमा ब्रिटिस गोरखा र भारतीय आर्मीका ब्यान्डसमेत परेडमा सहभागी हुनेछन्। भारतीय सेनाध्यक्ष रावतले मंगलबार हुने सैनिक परेडको प्रत्यक्ष अवलोकन गर्नेछन्। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक दिवसमा सहभागी हुन सेनाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत सोमबार नेपाल आउने बताए। सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टँुडिखेलमा बढाइँ तथा सैनिक कला प्रदर्शनीको विशेष कार्यक्रम गर्दै छ।

तत्कालीन सेनाध्यक्ष दलवीर सिंहले अवकाश पाएपछि सन् २०१६ डिसेम्बर ३१ देखि रावतले भारतीय सेनाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। राष्ट्रपति भण्डारीले रावतलाई ०७३ चैत १६ गते राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्।

सैनिक कूटनीतिको माध्यमबाट नेपाली र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध, द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेनाको निमन्त्रणामा आएका अमेरिकी सेनाका प्यासिफिक कमान्डर जनरल रोबर्ट बी ब्राउन चारदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। अमेरिकी सेनाले पूर्वाधार निर्माण, तालिम, हातहतियार तथा उपकरणलगायत सहयोग नेपाली सेनालाई उपलब्ध गराउँदै आएको छ।

नेपाल भ्रमणमा रहेका बेलायतका सेनाध्यक्ष जनरल निकोलस पेट्रिक कार्टरले समेत गत साता प्रधानसेनापति क्षत्रीसँग जंगीअड्डामा भेटवार्ता गरेका छन्। पोखरास्थित गोरखा ब्रिटिस क्याम्पमा हुने परेड अवलोकन गर्न बेलायती सेनाध्यक्ष कार्टर नेपाल आएका हुन्। प्रधानसेनापति क्षत्री र बेलायती सेनाध्यक्ष कार्टरबीच बुधबार सैनिक मुख्यालयमा भेटवार्ता भएको थियो। जनरल कार्टर सोमबार स्वदेश फिर्ता हुनेछन्।

अाजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार