प्रजातन्त्र दिवसका दिन ओलीले भने– समृद्धिको सपना साकार पार्ने युगको शुरुवात

काठमाडौ, ७ फागुन । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ ।

६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाले तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा प्रवेश गरिएको भन्दै अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आएको धारणा पनि राख्नुभयो ।

उहाले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत सुखी नेपाली र समृद्ध नेपाल को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि ओलीले बताउनुभयो । मुलुकको शासकीय मूल्य मान्यता, संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय उहाको भनाई छ ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको बिशेष कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायधिश लगाएतको सहभागीता थियो । समारोहमा कवाज, व्यायाम तथा परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।

सुरक्षाकर्मी, स्काउट, बिभिन्न संघसंस्था र क्लबको आयोजनामा मार्चपास गरिएको थियो । नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार