काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले नेपालको एकीकृत कम्युनिष्ट पार्टी र नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार भेटी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
चिनियाँ उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताएका थिए ।

चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुराउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो । भेटका अवसरमा येझाऊले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेका थिए ।
अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको उल्लेख गरेका थिए । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।
भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति शी जिनपिङले लेखेको “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।

390 पटक हेरिएको 

