काठमाडौँ, ११ फागुन । नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उहाँले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दिगो सरकार भएकाले खेलको उन्नति र प्रगतिमा विशेष ध्यान दिनुका साथै खेल क्षेत्रको माध्यबाट अन्तराष्ट्रिय पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो ।
जिम्बाबेमा यही फागुन २० गतेदेखि आयोजना हुने विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले नेपालको नाम उच्च राख्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै क्रिकेट खेलको विकासका लागि प्रधानमन्त्री ओलीको कार्यकालमा थप सहयोग हुनुका साथै क्रिकेट र फुटबलको रंगशाला निर्माण गर्न माग गरे ।

402 पटक हेरिएको 

