काठमाडौं । जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने आदेश दिए लगत्तै कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीलाई जेल चलान गरिएको छ।
न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलाशले चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो। अभियोग दर्ता भएपछि फरार रहेका चौधरीले करिब २ वर्षपछि आइतबार बिहान जिल्ला अदालतमा आत्मसर्मपण गरेका थिए। उनको आजै बयान भएको थियो ।
बयानमा उनले टिकापुर घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए।चौधरीको इन्कारी बयानपछि छुनछेक बहस भएको थियो । बहसपछि जिल्ला न्यायाधीश भट्टराईले यस्तो आदेश सुनाएका हुन् ।
०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

373 पटक हेरिएको 

