प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो ।
प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न आवश्यक सो कार्यविधि पारित गरेको हो ।

बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ ।

ज्येष्ठ सदस्य ठाकुरले बैठकको शुरुमै राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार