राष्ट्रपति चुनावको मनोनयन अाज, भण्डारीलाइ दोहोर्याउने एमाले निर्णय

काठमाडौं । फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि तोकिएको मनोनयनको समय दिउँसो २ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।

कूल ८ सय ८४ मतदाता रहेपनि राष्ट्रियसभामा मनोनीत अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्यालमाथि परेको मुद्दामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण सपथ रोकिएकाले उनीहरु मतदानमा सहभागी हुन पाएनृछैनन्। यस्तै मनाङका प्रदेशसभा सांसद दीपक मनाङे र कैलाली–१ का सांसद रेशमलाल चाैधरीले समेत मतदान गर्न पाउनेछैनन् ।

भण्डारीलाई दोहोर्‍याउने एमाले निर्णय
यसैबीच, मंगलबार राति अबेर सकिएको एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने गरी उम्मेदवारी दर्ता गराउने तयारी गरिएको एमाले उपाध्यक्ष भिम रावलले बताए।  यसअघि भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने वा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने भन्ने सम्बन्धमा एमालेभित्र विवाद थियो।

राष्ट्रपति भण्डारी २०७२ कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। एमाले र माओवादी केन्द्रको सहमति अनुसार एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति पद पाउनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार