काठमाडौं । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?
यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–दरबन्दीभन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तरपनि, कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’
कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।
यसैगरी, काजसरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार काजसरुवा भएका कर्मचारी तीन महिना पूरा भएपछि साबिककै कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कार्यालय ताहचलमा भने वर्षौँदेखि तलब नपाए पनि काजका कर्मचारी कार्यरत छन् ।

401 पटक हेरिएको 

